Banner Nepal
अविरल वर्षाले देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, धेरै सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ ।देशभर लगातार परिरहेकै अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आठवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। साथै, केही अन्य प्रमुख सडकहरू एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको भारी वर्षाले पूर्वदेखि पश्चिमसम्मका विभिन्न राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

अवरोध हुने प्रमुख राजमार्गहरूमा कोशी राजमार्ग (सङ्खुवासभा, भोटखोला गाउँपालिका), नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग (रसुवा), अरनिको राजमार्ग (सिन्धुपाल्चोक, भोटेकोशी), र मध्यपहाडी राजमार्ग (नुवाकोट, शिवपुरी गाउँपालिका) समावेश छन्।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोटस्थित जाजरकोट–डोल्पा भेरी करिडोर, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्गसमेत पूर्णरूपमा बन्द छन्।

यसबाहेक, काठमाडौँको टोखा हुँदै नुवाकोटतर्फ जाने सडक, बाग्लुङ नगरपालिकामा पर्ने कालिगण्डकी करिडोर, गैँडाकोट (नवलपरासी पूर्व) र थासाङ गाउँपालिका (मुस्ताङ) हुँदै जाने बेनी–जोमसोम सडक, साथै रोल्पाको परिवर्तन गाउँपालिकामा पर्ने सहिद राजमार्ग भने एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

अवरोध हटाउन प्रहरी, स्थानीय प्रशासन र प्राविधिक टोलीहरू परिचालन भइसकेका छन्। यात्रुहरूलाई सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update