
काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाभित्र पर्ने लिङ्तेप–थुकिमा सडक खण्ड आगामी साउन २५ गतेसम्मका लागि बन्द गरिएको छ। डाइभर्सन निर्माण र ढलान कार्य भइरहेका कारण यो सडक १६ दिनका लागि पूर्ण रूपमा बन्द गरिएको हो।
गाउँपालिकाका अनुसार लिङ्तेप र थुकिमाको सिमानामा पर्ने मुङ्वाखोलामा हाल ह्युमपाइप बिच्छ्याउने र डाइभर्सन निर्माणको काम भइरहेको छ। सो कार्य सम्पन्न नहुँदासम्म सडक बन्द गर्नुपर्ने अवस्था आएको जनाइएको छ।
डाइभर्सन निर्माणको जिम्मा लिएको मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले साउन २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र बनाएको गाउँपालिकाले जनाएको छ।
सडक बन्दका कारण यात्रु तथा सवारी साधनका लागि थुकिमाको मुदुम्सको मुख्य मार्ग हुँदै मुङ्वाखोला, लिङ्तेप र कान्छी बजार पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
उक्त सडक फुङ्लिङ सदरमुकामलाई मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासँग जोड्ने प्रमुख मार्ग हो।