
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले स्थानीय उत्पादन—विशेषगरी बाँस तथा बाँसबाट बनेका सामग्रीको प्रवर्द्धनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहानदेखि सत्याग्रह सुरु गरेका छन्।
सत्याग्रह सुरु गर्नुअघि नगरप्रमुख भट्टराईले प्रधानमन्त्रीलाई दुईपटक—जेठ २३ र असार ६ गते—बाँस र अन्य स्थानीय उत्पादन प्रवर्द्धनका माग समेटिएको सात बुँदे ज्ञापनपत्र बुझाइसकेका थिए। तर सरकारबाट कुनै सकारात्मक प्रतिक्रिया नआएको भन्दै उनले सत्याग्रह थालेका हुन्।
भट्टराई बाँस, मान्द्रो, गुन्द्री, राडी र परालसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले उनलाई रोकिएको उनका सचिवालय सदस्य चिरञ्जीवी खतिवडाले बताएका छन्।
भट्टराईले आइतबार बेलुकी ५ बजेसम्म सत्याग्रह बस्ने बताउँदै तीन दिनभित्र सरकारको तर्फबाट सुनुवाइ नभए आमरण अनसन सुरु गर्ने चेतावनीसमेत दिएका छन्। उनी साउन ४ गतेदेखि बाँस र त्यसबाट निर्मित सामग्रीसहित राजधानीमा छन्।