
काठमाण्डौ । कञ्चनपुरका किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी)लाई दिएको दूधको पैसा नौ महिनादेखि नपाएको गुनासो गरेका छन् ।
कृषि सहकारी तथा फार्ममार्फत डीडीसीलाई दूध आपूर्ति गर्दै आएका किसानहरूले मंसिरदेखि अहिलेसम्मको भुक्तानी नपाएको जनाएका छन् । कञ्चनपुरका सात सहकारी र ३४ वटा फार्मले करिब ६ करोड रुपैयाँ उठाउनु पर्ने भए पनि संस्थानले अझै बाँकी रकम तिरेको छैन ।
कृषि सहकारी अध्यक्ष कृष्णदत्त पनेरुका अनुसार भुक्तानी रोकिँदा किसानहरू आर्थिक संकटमा परेका छन् । डीडीसीबाट रकम नआउँदा सहकारीहरूले पनि किसानलाई तिर्न सकिरहेका छैनन् ।
डीडीसी धनगढी शाखा प्रमुख निरञ्जन भट्टराईका अनुसार कात्तिकदेखि चैतसम्म दूधको संकलन बढ्ने भएकाले भुक्तानीमा ढिलाइ भएको हो । उनले तीन करोड ३७ लाख भुक्तानी गरिसकिएको र बाँकी रकम चाँडै दिने आश्वासन दिएका छन् ।
डीडीसीका अनुसार कञ्चनपुरबाट मासिक २५०० देखि ४००० लिटर दूध संकलन भइरहेको छ ।