
काठमाण्डौ — मनसुन सक्रिय नहुँदा तराईका धेरै किसान अहिले खडेरीको मारमा परेका छन् । भूमिगत सिंचाइको भरमा गरिएको रोपाइँ भएका खेतहरूमा समेत चिरा पर्न थालेका छन् भने पानी नपाएर रोपाइँ गर्न नपाएका किसानका बीउ समेत छिप्पिन थालेका छन् ।
सिंचाइको भरपर्दो माध्यम नहुँदा किसान दिनहुँ आकाशतिर टोलाउँदै बसेका छन् । समयमै वर्षा नहुँदा रोपाइँ सकिएका खेतमा झार उम्रिन थालेका छन्, र धानबालीमा किराको प्रकोप देखिन थालेको कृषि प्राविधिकहरू बताउँछन् ।
गर्मी बढेसँगै मधेसको जनजीवन थप कष्टकर बन्दै गएको छ । रातको समयमा समेत सुत्न गाह्रो हुने गरी तापक्रम असह्य बनेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायू कमजोर भएकाले व्यापक वर्षाको सम्भावना न्यून छ । यद्यपि आज केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा सम्भावित छ ।