Banner Nepal
निर्दोषमाथि दोष थोपर्ने प्रयासको ज्वलन्त उदाहरण  — सांसद सावा

नेकपा एमालेका सांसद एलपी सावा लिम्बूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईमाथि जबरजस्ती आरोप लगाउन खोजेको बताउनु भएको छ । सांसद लिम्बूले वाईडबडी विमान खरिद प्रकरणमा अख्तियार प्रमुख  राईलाई जोड्ने प्रयास, निर्दोष व्यक्तिलाई कसरी जबरजस्ती आरोप लगाइन्छ भन्ने कुराको स्पष्ट दृष्टान्त भएको उल्लेख गर्नु भयो ।

राईले छोटो समयका लागि पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दासमेत, २०७३ साल वैशाख २ गतेको नेपाल वायुसेवा निगम सञ्चालक समितिको बैठकमा केवल अध्ययनका लागि एउटा समिति गठन गर्नुभयो—न कि बिमान खरिदको निर्णय, न त कुनै आर्थिक कारोबारमा उहाँको संलग्नता थियो।

उहाँ २०७३ साल भदौ २३ मा आपूर्ति मन्त्रालयमा सरुवा भइसकेपछि, माघ ३ गते मात्र वाइडबडी खरिद प्रक्रिया अगाडि बढेको हो। यस्तो अवस्थामासमेत उहाँलाई प्रक्रिया र निर्णयबाट कोसौं टाढा रहेकै बेला संलग्न देखाउने कोसिस हुनु गम्भीर अन्याय र दुर्भावनापूर्ण व्यवहार भएकाे  सांसद लिम्बूले बताउनु भयाे ।

त्यसैले, विशेष अदालतको पछिल्लो फैसलामा उहाँको नाम समेटिएको आधारमा केही सञ्चारमाध्यम र व्यक्तिहरूले एक इमानदार, निष्ठावान् र दक्ष निजामती अधिकृतको छविमाथि योजनाबद्ध रूपमा आक्रमण गर्नु गम्भीर भ्रम सिर्जना गर्ने दुस्साहस हो।

यो घटनाक्रम नेपालमा सबैलाई एउटै दायरामा राखेर बदनाम गर्ने, संस्थागत गरिमा र व्यक्तित्वलाई नष्ट पार्ने नियोजित अभ्यासको एक हिस्सा मात्र हो।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update