
काठमाण्डौ — इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा २४ घण्टाभित्र १०० जना भन्दा बढीको ज्यान गएको छ। मारिनेहरूमध्ये केही परिवारहरू भोकै सुतेका अवस्थामा थिए भने तीमध्ये एकजना स्वतन्त्र पत्रकार र उनका पाँच जना परिवारसमेत रहेको रोयटर्स ले जनाएको छ।
घटनाबारे इजरायली सेनाले औपचारिक प्रतिक्रिया नदिए पनि गाजाका १२० स्थानमा हमलाका निशाना बनाइएको जनाएको छ। प्रत्यक्षदर्शीहरूले मारिएका धेरै नागरिकहरू खाद्य अभाव र भोकमरीको अवस्थामा रहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, हालैको आक्रमणमा ५ वर्षभन्दा कम उमेरका २१ बालबालिकाको पनि मृत्यु भएको छ। गाजामा विगत ८० दिनदेखि खाद्य आपूर्ति अवरुद्ध रहँदा भोकमरीको अवस्था अत्यन्त गम्भीर बनेको छ।
डब्लुएचओ प्रमुख टेड्रोस एधानोम गेब्रेयससले एक भिडियो सन्देशमार्फत गाजामा २२ लाखभन्दा बढी मानिस युद्धको त्रास र भोकमरीको दोहोरो संकटमा रहेको बताएका छन्। उनका अनुसार सन् २०२३ मा इजरायली आक्रमण सुरु भएयता गाजामा खाद्यान्न संकट झन् गहिरिएको छ।
मानवअधिकार र स्वास्थ्य संस्थाहरूले गाजामा तत्काल मानवीय सहायता पुर्याउन आग्रह गरेका छन्।