Banner Nepal
स्याङ्जाको भालुपहाडमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाण्डौ — स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–३ स्थित भालुपहाडमा बिहीबार बिहान करिब ४ बजे ठूलो पहिरो खस्दा सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

स्थानीय विष्णु पौडेलका अनुसार, पहिरो अघिल्ला दिनहरूमा रातो माटो हालेर खाल्डाखुल्डी पुरिएको ठाउँमै खसेको हो, जसले गर्दा वर्षामा हिलो र घाम लाग्दा धुलोको समस्या रहँदै आएको थियो।

पहिरोका कारण स्याङ्जा र पोखरा दुवै दिशाबाट आउने सवारी साधनहरू बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। ट्राफिक चाप बढेसँगै तत्कालीन राहतका लागि प्रहरीले जेसिबी परिचालन गरेको छ।

स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले अहिले एकतर्फी सवारी सञ्चालन गर्न प्रयास भइरहेको र दिउँसोभित्रै ग्राभेल राखेर सडक खुलाउने तयारी भइरहेको जानकारी दिनुभयो। सडक डिभिजन कार्यालय पोखरासँग समन्वयमा पुनः सञ्चालनको काम अगाडि बढाइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update