
काठमाडौं ।हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी उपत्यकाको तिलगाउँ बाढी र सुक्खा पहिरोको जोखिमका कारण क्रमशः रित्तिँदै गएको छ। गत जेठ १ गते राति आएको बाढी र सुक्खा पहिरोपछि १८ परिवार घरविहीन भएपछि स्थानीयले सुरक्षित स्थानतर्फ बसाइँ सर्न थालेका हुन्।
पछिल्लो दुई महिनादेखि तिलगाउँका बासिन्दाहरू गाउँपारिको सुरक्षित चौरमा त्रिपालमुनी रात बिताउँदै आएका छन्। बिहान घरमा पुगेर काम गर्ने र राति त्रिपालमा सुत्ने गरेका उनीहरू अब स्थायी रूपमा गाउँ छाड्ने निर्णयमा पुगेका छन्।
काठमाडौंबाट पुगेको विज्ञ टोलीले ‘थर्मोकास्ट’ प्रभाव—अर्थात जमेको हिउँ पग्लँदा उत्पन्न हुने बाढी र सुक्खा पहिरो—तिलगाउँमा देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, पहिले गाउँ नछोड्ने अडानमा रहेका स्थानीय बासिन्दाहरू पनि अब हिमपहिरोको त्रासका कारण अन्यत्र सर्न बाध्य भएका छन्। अघिल्ला वर्षमा ४० घरधुरी रहेको तिलगाउँमा हाल २३ मात्र बाँकी छन्।
लिमीकै जाङ गाउँका बासिन्दाहरू पनि अन्यत्र सरेपछि अहिले सो क्षेत्रका बस्तीहरू लगभग रित्तिसकेका छन्। अधिकांश परिवार काठमाडौँ, नेपालगञ्ज र चीनतर्फ सरेका छन्।