Banner Nepal
बाढीले तमोर नदीमाथिको पाँच करोडको बेलिब्रिज बगायो, लेलेप क्षेत्र सम्पर्कविहीन

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर–६ लेलेपलाई जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ। आज बिहान तमोर  नदीसहित घुन्सा र हेल्लोक खोलामा आएको भीषण बाढीका कारण करिब पाँच करोड रुपैयाँ लागतमा बनेको उक्त पुल बगाएको हो।

चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त बेलिब्रिज आज बिहान करिब ४ बजे बाढीले बगाएको वडा नं. ६ का वडाध्यक्ष पेम्बाटाँसी शेर्पाले जानकारी दिनुभयो।

यसअघि पनि बाढीले लेलेपको विद्युत गृहमा क्षति पुर्‍याएर उत्पादन बन्द गराइसकेको थियो।

हाल सो क्षेत्रमा टेलिफोन सम्पर्क नहुँदा क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिन भइरहेको छ। स्थानीय ग्याबु शेर्पाका अनुसार लेलेपको सोत्लीमा पहिरो खसेको छ, तर मानिसहरू भाग्न सफल भएका छन्। क्षेत्रमा हिजो बेलुकादेखि लगातार वर्षा भइरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update