काठमाडौं । नेपाल–चीन सीमामा रहेको रसुवाको मितेरी पुलको पुनर्निर्माण कार्य सुरु भएको छ। गत असार २४ गते आएको भीषण बाढीले पुलसहितका संरचना बगाएपछि अब चीन सरकारको पहलमा ल्हेन्देखोलास्थित स्थानमा बेलिब्रिज जडानको काम अघि बढाइएको हो।
सडक विभागका अनुसार मितेरी पुल भएको स्थानमा अस्थायी बेलिब्रिज बनाइँदैछ, जसलाई भदौ ३० भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ र हाल हलुका सवारीसाधन चल्न थालेका छन्, यद्यपि ठूला मालवाहक सवारीसाधन अझै सञ्चालनमा छैनन्।
बाढीपहिरोका कारण स्याफ्रुबेँसीदेखि केरुङ जाने सडकका विभिन्न खण्डमा करिब २५ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। चीनले बेलिब्रिज निर्माण गर्दैगर्दा नेपालतर्फका सडक संरचनाको मर्मतसमेत गरिने विभागको भनाइ छ।