काठमाडौं । ८ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका नेपाली यात्रुका परिवारलाई क्षतिपूर्ति दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
सोमबार न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले पीडित परिवारको पक्षमा फैसला सुनाउँदै एयरलाइन्सले न्यूनतम ६२ लाखदेखि साढे ३ करोडसम्म क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको हो।
२०७४ साल फागुनमा भएको उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। पीडित १७ नेपाली परिवारले क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेका थिए।
वरिष्ठ अधिवक्ता युवराज सङ्ग्रौलाको नेतृत्वमा निःशुल्क कानुनी सहायता पाएका पीडित परिवारका लागि यो फैसला नेपालको उड्डयन इतिहासमै उदाहरणीय भएको बताइएको छ। अदालतले करिब ३८ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति सन्तानको शिक्षासहित अन्य खर्चका लागि प्रदान गर्न आदेश दिएको हो।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    