
कास्की जिल्लामा डेङ्गु संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन र स्थानीय निकायहरूले सक्रियता बढाएका छन्। हालसम्म १८६ जना संक्रमित फेला परेकोमा ९५ प्रतिशत पोखरा महानगर क्षेत्रमै रहेका छन्।
गएको वर्ष मात्रै जिल्लामा ९,८०० भन्दा बढी संक्रमित भेटिएका थिए र ८ जनाको ज्यान गएको थियो। यो वर्ष ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान गर्दै स्वास्थ्य मन्त्रालयले पहिल्यै सावधानी अपनाउन आग्रह गरिसकेको छ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले प्रत्येक शुक्रबार सरकारी कार्यालयहरूमा ‘खोज र नष्ट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानअन्तर्गत सरकारी कार्यालय परिसर र वरपर सम्भावित डेङ्गु फैलाउने स्रोतहरू हटाइनेछ।
प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले साउनदेखि कात्तिकसम्म उच्च जोखिम हुने भन्दै अझ सतर्कता आवश्यक भएको बताए। सहायक प्रजिअ शिव लम्सालले जनस्तरसम्म पुग्ने सचेतना अभियानको आवश्यकता औंल्याए।