Banner Nepal
ढाकामा लडाकु विमान स्कुलमा खस्दा २५ बालबालिकासहित २७ को मृत्यु

काठमाण्डौ । बंगलादेशको राजधानी ढाकास्थित एक निजी स्कुलमा चिनियाँ लडाकु विमान खस्दा २५ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ। माइलस्टोन स्कुल एन्ड कलेजमा एफ–७ बिजेआई नामक विमान सोमबार दिउँसो खस्दा, कक्षाबाट निस्किएर खेल्दै गरेका बालबालिकामाथि ठोक्किँदा यो दशककै सबैभन्दा भयानक विमान दुर्घटना बन्यो।

बंगलादेशी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा एक जना पाइलट र एक जना स्कुल कर्मचारीसमेत छन्, भने ७८ जना उपचाररत छन्। कुल घाइते संख्या १७० नाघेको बताइएको छ।

दुर्घटनाको समयमा स्कुलको आँगनमा रहेका विद्यार्थीहरू ती झुलामा खेल्दै थिए जुन विमानले नस्ट पार्‍यो। बाँच्न सफल केही विद्यार्थीहरू अझै मानसिक आघातमा छन्।

स्कुल परिसरमा बालबालिकाका चप्पल, झोला र परिचयपत्रहरू छरपस्ट भेटिएका छन्, जुन अहिले सुरक्षाकर्मीले संकलन गरिरहेका छन्।

वायु सेनाका अनुसार पाइलट तौकीर इस्लाम विमानलाई जनघनत्वबाट टाढा लैजान प्रयासरत थिए, तर इन्जिनमा आएको प्राविधिक गडबडीका कारण विद्यालयमै खस्न पुगे।

बंगलादेशका अन्तरिम राष्ट्रप्रमुख मुहम्मद युनुसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एक दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update