मध्यरातमा १२ लाखको चोरी
मध्यरातमा कोठा पसेर लाखौं नगद चोरी गर्ने युवक पक्राउ

काठमाडौं । पोखरामा शुक्रबार राति एक व्यापारीको कोठामा पसेर १२ लाखभन्दा बढी नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति कास्की माछापुच्छरे गाउँपालिका–९ का २३ वर्षीय ओमबहादुर भुजेल हुन्।
भुजेललाई आइतबार राति पोखरा–६, डिहिकोपाटनबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले सोमबार कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
शुक्रबार राति मालेपाटनमा रहेको दाङ भ्याली फ्रेस हाउस सञ्चालक सङ्गिता भण्डारीको कोठाबाट दराजमा राखिएको १२ लाख ३० हजार नगद चोरी भएको थियो।
जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले भुजेललाई नियन्त्रणमा लिँदा ९ लाख ९७ हजार ५ सय रुपैयाँ नगद र २ थान मोबाइल बरामद गरेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १७:३७
प्रतिक्रिया दिनुहोस्