
काठमाडौं । महोत्तरीको प्रमुख व्यापारिक क्षेत्र गौशालामा गोरु बजारको ठेक्कासम्बन्धी विवादले हिंसात्मक रूप लिँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्। सोमबार भएको झगडापछि नियमित लाग्ने चौपाया बजार सुनसान बनेको छ भने सुरक्षाकर्मीले तनावग्रस्त क्षेत्र नियन्त्रणमा लिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, ठेक्काको विषयमा दुई पक्षबीच कुटपिट हुँदा गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, ३५ वर्षीय विजय यादव, नगरपालिका–४ का विपिन साह, सुनिल साह र सुरेन्द्र महतो घाइते भएका छन्।
चार जनाको टाउकोमा गम्भीर चोट लागेकाले उनीहरूलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ भने सुरेन्द्र महतोको हातमा चोट लागेकाले गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबैको अवस्था मध्यम छ।
स्थानीय व्यापारीहरूका अनुसार गोरु बजार श्री निगौल गाई गौशालाको स्वामित्वमा रहेको एक बिघा जग्गामा राणा शासनकालदेखि सञ्चालन हुँदै आएको हो।
२०७१ सालमा सात दलिय संयन्त्रको निर्णयअनुसार बजारको ठेक्काबाट उठेको आम्दानीको २५ प्रतिशत भाग गाई गौशालालाई दिनुपर्ने सहमति भए पनि नगरपालिकाले त्यो पालना नगरेको आरोप छ।
यस आर्थिक वर्ष २०८२/८३ मा पनि नगरपालिकाले गाई गौशालाको सहमति नलिई श्रवण महतोलाई ठेक्का दिएकोले विवाद चर्किएको हो।