काठमाडौँ । चीनले तिब्बतबाट बग्ने यार्लुङ साङ्पो नदी (भारतमा ब्रह्मपुत्र) मा शनिबारदेखि विशाल जलविद्युत् परियोजनाको निर्माण सुरु गरेको छ। प्रधानमन्त्री ली कियाङको उपस्थितिमा सुरु भएको यो बाँध चीनको कार्बन न्यूट्रालिटी लक्ष्य र तिब्बती क्षेत्रको आर्थिक विकाससँग जोडिएको छ। परियोजनालाई गत डिसेम्बरमा औपचारिक स्वीकृति दिइएको थियो।
दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास कार्यक्रममा अधिकारीहरूले परियोजनाबाट उत्पादित बिजुली तिब्बत भित्रै र चीनका अन्य क्षेत्रमा आपूर्ति गरिने जानकारी दिएका छन्। यो बाँध चीनको प्रसिद्ध थ्री गर्जेज बाँधभन्दा ठूलो हुने बताइएको छ।
करिब १६७ अर्ब डलरको लागतमा निर्माण हुने बाँधले पाँचवटा जलविद्युत केन्द्रमार्फत ऊर्जा उत्पादन गर्नेछ। यद्यपि, नदीको बहाव रोकिनाले भारत र बङ्गलादेशमा गम्भीर असर पर्न सक्ने चिन्ता गरिएको छ। भारतले यसबारे चिनियाँ पक्षसँग चासो व्यक्त गर्दै भारतीय हितमा असर नपर्ने व्यवस्था गर्न आग्रह गरिसकेको छ।
चीनले भने परियोजनाले तल्लो तटीय देशहरूमा कुनै नकारात्मक असर नपर्ने दाबी गर्दै नियमित सम्पर्कमा रहने जनाएको छ। यता, वातावरणविद्हरूले तिब्बती पठारजस्ता संवेदनशील क्षेत्रमा यस्ता ठूला निर्माणले पार्न सक्ने दीर्घकालीन असरबारे चेतावनी दिएका छन्।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    