काठमाडौँ । निरन्तर परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। शनिबार साँझदेखि सुरु भएको वर्षाले यातायात आवागमनमा ठूलो अवरोध पुर्याएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरका मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी लोकमार्ग, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको महाकाली राजमार्ग रहेका छन्।
यस्तै, काठमाडौँ–नुवाकोट सडकखण्ड, बागलुङ नगरपालिकाको कालीगण्डकी करिडोर, गलकोट खण्डको मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने आंशिक रूपमा, एकतर्फी सञ्चालनमा रहेका छन्।
सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीहरू राहत र पुनः सञ्चालनका प्रयासमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    