
काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले हालै तोकेको श्रमिकको न्यूनतम ज्यालालाई 'कागजी न्याय' भन्दै आलोचना गरेका छन्। उनले यो निर्णयले श्रमिकको वास्तविक जीवनमा कुनै सार्थक परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन्।
‘विपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै महरले १९,५५० रुपैयाँ मासिक तलबको नयाँ सीमा बजारको महँगी र श्रमिकको न्यूनतम आवश्यकतालाई सम्बोधन गर्न अपुग रहेको स्पष्ट पारे। उनका अनुसार, यो वृद्धि श्रमिकको वास्तविक खर्चसँग मेल खाँदैन र केवल प्रतीकात्मक मात्र हो।
“यो तलबले खाना र भान्सा टालटुल गर्न सघाउला, तर बच्चाको पढाइ, स्वास्थ्य उपचार र भविष्यको सपना पुरा गर्न सक्दैन,” महरले भावुक रूपमा भने।
उनले न्यूनतम ज्यालाको निर्णय वैज्ञानिक आधारमा नभइ अंक बढाउने मात्र अभ्यास भएको बताउँदै जीवनयापन लागतलाई केन्द्रमा राखेर नयाँ प्रणाली निर्माण गर्नुपर्ने माग गरेका छन्। उनले चार जनाको परिवारका लागि काठमाण्डौ जस्ता सहरमा न्यूनतम ३०-३५ हजार रुपैयाँ आवश्यक पर्ने विभिन्न अध्ययनको हवाला पनि दिए।
महरका अनुसार, हालको १३% को ज्याला वृद्धिलाई मुद्रास्फीतिको चपेटाले पहिल्यै निष्क्रिय बनाइसकेको छ। यो वृद्धिले श्रमिकको खर्च क्षमता बढाउनेभन्दा पनि जस्ताको तस्तै राख्न पनि हम्मे–हम्मे पर्छ।
कार्यक्रममा उनले विपी कोइरालाको समाजवादको सार श्रमिकको आत्मसम्मान र उत्पादनमा रहेको उल्लेख गर्दै भने, “उचित ज्याला कुनै खर्च होइन, अर्थतन्त्रको इन्धन हो।”