काठमाडौं । अमेरिकी राज्य अलास्काको तट नजिकै बुधबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टामै फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) र राष्ट्रिय सुनामी चेतावनी केन्द्र (NTWC) ले जनाएका छन्।
स्थानीय समय अनुसार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट टापुको सहरदेखि करिब ८७ किलोमिटर दक्षिणमा भूकम्प गएको हो। जमिनको १२.५ माइल गहिराइमा केन्द्रित यो भूकम्पपछि एक दर्जनभन्दा बढी पराकम्पहरू मापन गरिएको USGS ले जनाएको छ, तीमध्ये सबैभन्दा ठुलो ५.२ म्याग्निच्युडको थियो।
सुरुवातमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी चेतावनी जारी गरिएको थियो। तर, केही समयपछि वास्तविक असर न्यून देखिएपछि चेतावनी रद्द गरिएको हो। स्यान्ड पोइन्ट क्षेत्रमा अधिकतम ६.१ सेन्टिमिटर (०.२ फिट) उचाइको सानो लहर मात्र अवलोकन गरिएको NTWC ले जनाएको छ।
“स्थानीय आपतकालीन अधिकारीहरूले पूर्ण सुरक्षित भनेको नभएसम्म जोखिम क्षेत्रतर्फ नफर्कनुहोस्,” केन्द्रले सावधानी अपनाउन आग्रह गरेको छ।
अलास्का विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो, जुन प्रशान्त रिङ अफ फायरमा पर्दछ। यसअघि पनि जुलाई २०२३ मा ७.२ म्याग्निच्युडको भूकम्प यहीं आएको थियो। सन् १९६४ मा गएको ९.२ म्याग्निच्युडको भूकम्पले त सहरहरू तहसनहस बनाएको थियो र ठूलो सुनामी ल्याएको थियो।
यद्यपि अहिलेको भूकम्पमा हालसम्म जनधनको क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ। अधिकारीहरूले सतर्कता भने कायमै राखेका छन्।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    