Banner Nepal
अडियो विवादमा मन्त्री बलराम अधिकारीको स्पष्टीकरण, पुनर्गठनको संकेत

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पछिल्लो समय सार्वजनिक भएको अडियो र कथित जग्गा काण्डका कारण विवादमा तानिएका छन्। एक वर्षे मन्त्रालयको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विवादबारे खुलस्त धारणा राख्दै, अडियो सामग्री आफू र मन्त्रालयसँग असम्बन्धित भएको दाबी गरे।

उनले भने, “यहाँहरूले अडियो सुन्नुभएको छ। मेरो आवाज, मैले त्यहाँ मागेको कुरा फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु।” अडियो सार्वजनिक भएपछि उनलाई लक्षित गरी चलाइएको प्रचारलाई उनले नियोजित चरित्रहत्या प्रयासको संज्ञा दिए।

अधिकारीका अनुसार, केही व्यक्तिहरू मालपोत अधिकृतलाई सरुवा गराउने व्यक्तिगत स्वार्थका लागि आफूसमक्ष आएका थिए। आफूले त्यसमा सहमति नदिएपछि योजनाबद्ध रूपमा अडियो प्रकरणमार्फत बदनाम गरिने अभियान सुरु गरिएको उनले बताए। “उहाँ मुद्दामा जानुभयो, फैसलामा पनि आएन। अहिले आएर मेरो नाम, परिवारसँग जोडेर आरोप लगाइएको छ,” उनले प्रष्ट पारे।

पोखराको विवादास्पद जग्गासँग पनि आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै मन्त्री अधिकारीले अडियोमा प्रयोग भएको भाषा, बोल्ने शैली र व्यक्ति नै आफूहरूसँग मेल नखाने जिकिर गरे।

यही क्रममा, पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको जानकारीसमेत दिए। उनले भने, “एक वर्षपछि पुनर्गठन हुने सहमति नै हो। को रहन्छन्, को रहँदैनन् त्यो छुट्टै कुरा हो।”

पदका आधारमा होइन, जिम्मेवारीका आधारमा काम गर्ने भन्दै उनले आफूमाथि लागेको आरोप पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको समेत प्रस्ट पारे।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update