Banner Nepal
कल्याणपुरका मेयर घुससहित पक्राउ

काठमाडौँ  । कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, मेयर साहले नगरपालिकाबाट निर्माण भएको २० लाख रुपैयाँ बराबरको नालामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए। समितिले रकम दिन अस्वीकार गरेपछि मेयरले योजना पास गर्न आनाकानी गर्दै चेक रोकेका थिए।

केही दिनको बार्गेनिङपछि उनले उपभोक्ता समितिलाई चेक लिनुअघि एक लाख रुपैयाँ बुझाउन र बाँकी रकम चेक खातामा रकम जम्मा भएपछि दिन सुझाएका थिए। यसै क्रममा उनी घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

अख्तियारको टोली अहिले नगरपालिकाको कार्यालयमै रही कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update