Banner Nepal
ऊर्जाविज्ञ प्रबल अधिकारीलाई 'ऊर्जा ज्योति सम्मान'

काठमाडौँ । वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई यस वर्षको ‘ऊर्जा ज्योति सम्मान २०८२’ प्रदान गरिएको छ । निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान (IPPAN) ले आयोजना गरेको २३औँ वार्षिक साधारणसभामा अधिकारीलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट उक्त सम्मान प्रदान गरिएको कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्का, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, इप्पान अध्यक्ष गणेश कार्की र संस्थापक शैलेन्द्र गुरागाईं पनि सहभागी थिए ।

इप्पानका पूर्वअध्यक्ष गुरागाईंले दिवंगत छोरी श्रीनिका गुरागाईंको स्मृतिमा सन् २०७६ मा यो सम्मान स्थापना गरेका हुन् । यो सम्मान हरेक वर्ष ऊर्जा क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई दिइन्छ — चाहे उनी सार्वजनिक पदमा होऊन् वा नहुन् ।

३ दशक नेपाल विद्युत प्राधिकरणमा सेवा गरेका प्रबल अधिकारी उपकार्यकारी निर्देशकको हैसियतमा सेवानिवृत्त भएका थिए । त्यसपछि ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञका रुपमा उनले कार्य गरेका थिए । विद्युत व्यापारको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव बोकेका अधिकारी निजी क्षेत्रको पक्षमा आवाज उठाउने स्वतन्त्र ऊर्जा विज्ञको रुपमा चिनिन्छन् ।

सम्मान ग्रहण गर्दै उनले ऊर्जा क्षेत्रको समृद्धिका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै यो सम्मान सम्पूर्ण निजी क्षेत्रलाई समर्पण गरेका छन् । साथै, उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको आर्थिक रुपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update