काठमाडौँ । संयुक्त राष्ट्रसंघीय सम्मेलनको नाममा स्पेन पुर्याइएको गिरोहको गतिविधि र सम्भावित मानव तस्करी प्रकरणबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष समिति गठन गरेको छ। समितिको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले गर्नुभएको छ।
एसएसपी बोगटीले छानबिन यथासक्य चाँडो सम्पन्न गरी प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाउने जानकारी दिनुभयो। समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू समेत सहभागी छन्।
सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा स्पेनमा भएको भनिएको मानव तस्करीका विषयमा गम्भीर रूपमा छलफल भएको र त्यही बैठकबाट छानबिन समिति गठनको निर्णय भएको हो।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ सदस्यीय उच्चस्तरीय सरकारी टोली स्पेनको सेभिया सहरमा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्’ कार्यक्रममा सहभागी हुन गएको थियो। सो टोली २० असारमा स्वदेश फर्किएको थियो।
तर सोही अवधिमा अस्वाभाविक रूपमा थप ८२ जना नेपाली स्पेन पुगेका छन् भने ५५ जना गन्तव्यमा जान नपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको तथ्य बाहिर आएको छ। आशंका गरिएको छ कि सरकारी संयन्त्रको प्रयोग गरेर संगठित गिरोहले ठूलो मात्रामा मानव तस्करी गरेको हो।
तथ्यांक अनुसार सो गिरोहले स्पेन पुग्नेबित्तिकै त्यहाँबाट अन्य युरोपेली देशहरू, विशेषगरी पोर्चुगल छिराउने र त्यसबापत व्यक्तिबाट लाखौँ रकम असुल्ने गरेको विवरण अघिल्लो दिनहरूमा बाहिर आइसकेको छ। प्रारम्भिक अनुसन्धानमा पनि यो मानव तस्करीसँग सम्बन्धित गम्भीर प्रकरण भएको संकेत देखिएको प्रहरीको भनाइ छ।