काठमाण्डौ । भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत छन्।
अख्तियारका अनुसार, मोही मुद्दा मिलाउने नाममा सेवाग्राहीसँग घुस लिइरहेका बेला राउतलाई कार्यालयबाटै रंगेहात पक्राउ गरिएको हो। उनको साथबाट २४ लाख ५० हजार नगद बरामद गरिएको छ।
यसै प्रकरणमा प्रमुख आचार्यसमेत मुछिएका छन्। अनुसन्धानका क्रममा आचार्यको साथबाट दुईवटा मोबाइल फोन र राउतसँग एउटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।
उनीहरूद्वारा भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जमिन मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउनका लागि घुस मागिएको खुलेको छ। जमिन मोही र तल्सिङको विवरण मिलाएर कागजी प्रक्रिया अघि बढाउने भन्दै सेवाग्राहीलाई दबाब दिइएको पाइएको हो।
अख्तियारले हाल दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    