
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर हालसम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४ सय ५ हेक्टर जमिनमा रोपाइँ भएको हो ।
यो गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा ६७ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९३ प्रतिशत अर्थात करीब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ ।
कर्णाली प्रदेशमा ८३ दशमलव २३प्रतिशत, लुम्बिनीमा ७३ दशमलव ६८ प्रतिशत, गण्डकीमा ६७ प्रतिशत, बाग्मतीमा ७६, मधेशमा ३३ र कोशी प्रदेशमा ४१ प्रतिशत रोपाइँ सकिएको छ ।मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांक अनुसार देशका केही भागमा रोपाइँ जारी छ ।आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।गत आर्थिक वर्ष २०८०÷८१ मा५७ लाख २४ हजार २ सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
मौसमको प्रतिकूलता, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।मुलुकमा १३ लाख ८३ हजार ७३२ हेक्टर जमिनमा रोपाइँ हुने गरेको मन्त्रालयका तथ्यांक छ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।