
काठमाडौं । गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टले इन्धन आपूर्ति बन्द हुँदा दुर्घटना भएको औंल्याएको छ ।
अनुसन्धान प्रतिवेदन अनुसार ककपिटमा रहेको इन्धन नियन्त्रण स्विच ‘रन’बाट ‘कटअफ’मा परिणत भएपछि इन्जिनमा इन्धन आपूर्ति रोकिएको थियो । १५ पृष्ठको प्रारम्भिक प्रतिवेदन अनुसार विमानले १८० नट गति लिएको बेला दुवै इन्जिनका इन्धन स्विच एक सेकेन्डको अन्तरमा बन्द गरिएको पाइएको छ ।
ककपिटको भ्वाइस रेकर्डिङमा, एक पाइलटले अर्को पाइलटलाई किन कटअफ गरेको भनेर सोध्दा उसले ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख गरिएको छ । त्यसपछि स्विच पुनः सामान्य स्थितिमा फर्काइएको थियो र इन्जिन फेरि स्टार्ट हुने क्रममा विमान नियन्त्रण गर्ने पाइटलको प्रयास असफल भएपछि जमिनमा खसेको थियो ।
लण्डन जाँदै गरेको विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित २६० जनाको मृत्यु भएको थियो । विमानमा सवारमध्ये एक जना भने बाँच्न सफल भएका थिए । यसैबीच एयर इन्डियाले सो रिपोर्ट सार्वजनिक भएसँगै एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान एजेन्सीलाई पूर्ण सहयोग गरिरहेको बताएको छ ।